Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 09, No. 12-14

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4812

सम्पादकीय

कोरोना काल मात्र नभएर उत्तर कोरोना कालमा समेत विश्वले नै एउटा अस्थिर अनि अव्यवस्थित परिस्थिति झेल्नु पर्‍यो, झेलिरहेको छ। त्यसैको परिणामस्वरूप वर्ष २०२० देखि अभिज्ञानको प्रकाशन सुचारु गर्न सकिएन। त्यस समयदेखि हालसम्म अभिज्ञानका पाँचवटा अङ्क छापिनु पर्ने हो तर एउटै पनि छापिएन। शोधपत्रको सङ्कलन, चयन, समीक्षा अनि सम्पादन प्रक्रियामा त्यसै पनि समय लाग्छ नै, त्यसमाथि स्थिति प्रतिकूल रहेकाले यसको व्यवस्थापन श्रमसाध्य बन्यो। यतिका समयपछि बल्ल जुन २०२१ देखि डिसम्बर २०२२ सम्मका समयावधिमा छापिनु पर्ने यसका तीनवटा अङ्कलाई संयुक्त रूपमा अहिले प्रकाशन गरिँदैछ। ढिलै भए पनि अहिले छापिँदै गरेको अभिज्ञानको यस अङ्कलाई सुधी पाठक महानुभावहरूले सहर्ष ग्रहण गर्नु हुनेछ भन्ने अपेक्षा साँचेका छौँ।

अघिल्ला प्रायः अङ्कहरू जस्तै अभिज्ञानको यो अङ्क पनि विविध विषययुक्त रहेको छ। यसमा प्राज्ञिक अनुसन्धानरत दसजना लेखकका विभिन्न विषयमा लेखिएका शोधपत्रलाई ठाउँ दिइएको छ। अभिज्ञानको गत अङ्कदेखि यसमा छापिएका सबै शोधपत्रहरू विद्वत् समीक्षा आधृत छन्। सम्बन्धित विषयका प्राज्ञहरूको परामर्शअनुसार संशोधन भए पछि प्रकाशनयोग्य ठहराइएका यसका सबै शोधपत्रमा अभिज्ञानको निर्दिष्ट लेखन शैली अनुसरण गरिएको छ।

अभिज्ञानको यस अङ्कमा रहेका दसवटा लेखका विषय विचार गर्दा सञ्जय विष्ट, सिबेन शर्मा अनि आशिष तामाङका लेखबाहेक अन्य सातवटा लेख नेपाली कथाका विवेचनमा केन्द्रित छन्। आधुनिक नेपाली कथा साहित्यको पहिलो प्रहरमा कथा लेख्ने गुरुप्रसाद मैनालीबाट सुरु गरेर ध्रुवचन्द्र गौतम, विन्द्या सुब्बा, प्रदीप गुरुङ हुँदै सञ्जय विष्टसम्मको कथाकारिताका वस्तु अनि शैली खुट्ट्याउने प्रयास यी शोधपत्रले गरेका छन्।

ज्ञानानुशासनका प्रत्येक क्षेत्र अन्तर्विषयक बन्दै गइरहेको आजको समयमा साहित्यको अध्ययनमा पनि विविध ज्ञानानुशासनलाई आधारभूमि बनाइएको छ। यस्तै आधारभूमि टेकेर उभिएका यसमा समाविष्ट दुर्गाप्रसाद शर्माको ‘अपराध कथाका रूपमा “मैले सरिताको हत्या गरेँ” कथाको विश्लेषण’, राजीव विश्वकर्मको ‘प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना’, विश्वराज खतिवडाको “नासो” कथामा सामाजिक वास्तविकता’ जस्ता लेखले शोधकर्तालाई साहित्य सन्धानका नयाँ दिशा देखाएका छन्। डा भुपेन तामाङ अनि कोमल सुब्बाका नेपाली बालकथा विषयक लेख तथा कथाका शैलीय सङ्घटनाको विवेचनामा केन्द्रित डा योगेश पन्त कृत “कथाकारको आँखा” कथाको विधा परिपाटी’ र शिवम् शर्मा कृत ‘ध्रुवचन्द्र गौतमको “तदुपरान्त” कथामा वक्रोक्ति प्रयोगको विश्लेषण’ शीर्षक लेखहरू यस अङ्कका नौला अभिप्राप्ति हुन्। साहित्यिक अध्ययनका दुईवटा पाटा छन् - वस्तु अनि शैली। सिबेन शर्मा कृत ‘समकालीन भारतीय नेपाली कवितामा समय चेतना’ शीर्षक लेखमा समय तत्त्वलाई वस्तुसँगै शैलीय विवेचनाको आधार बनाएको छ। यीबाहेक साहित्येतर विषयमा लेखिएका दुईवटा लेखमध्ये सञ्जय विष्टको ‘शब्दार्थ सम्बन्ध’ भाषिक विमर्श केन्द्रित छ भने आशिष तामाङको ‘गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार’ शीर्षक लेखले तामाङ समुदायद्वारा पालन गरिने मृत्युसम्बन्धी लोकसांस्कृतिक गतिविधिसित हामीलाई परिचय गराएको छ। यसरी विविध विषयका दसवटा लेखहरूको सङ्गालाका रूपमा आइरहेको अभिज्ञानको यस अङ्कका जम्मै लेखहरूले कुनै न कुनै रूपमा हाम्रा पाठकहरूको बौद्धिक क्षितिजलाई विस्तार गर्न सहयोग गर्ने छ भन्ने आशा राख्दछौँ।

Browse

Search Results

Now showing 1 - 10 of 10
  • Thumbnail Image
    ItemOpen Access
    Dhrubachandra Goutamko 'taduprant' kathama bakrokti prayogko wishleshan ध्रुवचन्द्र गौतमको 'तदुपरान्त' कथामा वक्रोक्ति प्रयोगको विश्लेषण
    (University of North Bengal, 2022) Sharma शर्मा, Shibam शिवम्
    प्रस्तुत लेखमा वक्रोक्तिको अर्थ तथा वक्रोक्तिसम्बन्धी पूर्वीय एवम् पाश्चात्य चिन्तनको परिचय प्रस्तुत गर्दै कुन्तकको वक्रोक्ति सिद्धान्तका आधारमा कथाकार ध्रुवचन्द्र गौतम लिखित ‘तदुपरान्त’ कथाको विश्लेषण गरिएको छ। कथाभित्र वर्ण, पद, वाक्य, प्रकरण अनि प्रबन्धका तहमा देखिएका वक्रोक्तिले कथालाई कसरी कलात्मक, श्रुतिरमणीय, अर्थ गाम्भीर्ययुक्त, व्यङ्यात्मक, माधुर्यपूर्ण र ध्वन्यात्मक वैचित्र्ययुक्त तुल्याएको छ भन्ने विषयबारे यसमा प्रकाश पारिएको छ। यसमा अध्ययनका निम्ति मूलत: कुन्तकको वक्रोक्तिकाव्यजीवितम्‌मा व्रकोक्तिबारे गरिएको सिद्धान्त कथन अनि भेद निरूपणलाई सैद्धान्तिक एवम् विधिगत आधारका रूपमा ग्रहण गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Bindha Subbakrita 'iswari' kathako balpatrako manobishleshanatmak adhyayan विन्धा सुब्बाकृत ‘ईश्वरी’ कथाकी बालपात्राको मानोबिश्लेषनात्मक अध्ययन
    (University of North Bengal, 2022) Subba सुब्बा, Komal कोमल
    प्रस्तुत शोधपत्रमा विन्द्या सुब्बाको ‘ईश्वरी’ कथाकी बाल पात्र ईश्वरीको मनोविश्लेषणात्मक अध्ययन गरिएको छ। बालमनोविज्ञानबारे विभिन्न मनोवैज्ञानिकहरूको अधारणा प्रस्तुत गर्दै कथाकी मुख्य बालिका पात्र ईश्वरीमा निहित संवेगहरूको विश्लेषण गर्ने प्रयास गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Garubathan khandka tamang jatima prachlit गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार
    (University of North Bengal, 2022) Tamang तामाङ, Ashish आशिष
    - गोरुबथान खण्ड पश्‍चिम बङ्गाल राज्यको कालेबुङ जिल्लाअन्तर्गत कालेबुङ महकुमामा अवस्थित छ। यो क�
  • Thumbnail Image
    ItemOpen Access
    Samkalin bhartiya nepali kabitama samay chetna समकालीन भरतियो नेपाली कवितामा समय चेतना
    (University of North Bengal, 2022) Sharma शर्मा, Siben सिवेन
    प्रस्तुत शोध पत्रमा समकालीन भारतीय नेपाली कवितामा पाइने समयचेतनाको अध्ययन गरिएको छ। कवितामा समयचेतना शैली र भाव दुवैमा पाइन्छ। समकालीन भारतीय नेपाली कवितामा समयचेतना कुन रूपमा अर्थात् कसरी प्रकट भएको छ? त्यसैलाई देखाउने प्रयास यहाँ गरिएको छ। यहाँ राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, वासुदेव पुलामी, विचन्द्र, रेमिका थापा, सुधीर छेत्री, वीणा हाङ्गखिम र राजु प्रधान ‘हिमांशु’का कवितामा पाइने समयचेतनाबारे विश्लेषण गरिएको छ। अध्ययन विश्लेषणका निम्ति स्टिफन हकिङ, जेरार्द जेने, इन्द्रबहादुर राई, घनश्याम नेपाल, दिवाकर प्रधान र राजेश जोशीका विचारहरूलाई सैद्धान्तिक आधारका रूपमा ग्रहण गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Pradip Gurungka kathama chitrit dampattya sangkatko bibechna प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना
    (University of North Bengal, 2022) Bishwakarma विश्वकर्मा, Rajib राजीव
    प्रदीप गुरुङ सामाजिक यथार्थलाई विषय बनाएर कथा लेख्ने प्रभावशाली कथाकार हुन्। उनका कथामा समाजमा घटित विसङ्गतिहरूको कडी समाउन सक्ने आलोचनात्मक सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ। विविध सामाजिक समस्याजस्तै दाम्पत्य सङ्कटको चित्रण गरिएका उनका धेरै कथाहरू पाइन्छन्। यस कारण यस शोध पत्रमा ती कथामा चित्रित दाम्पत्य सङ्कटका विविध रूपको विवेचना गर्ने लक्ष्य राखिएको छ। दाम्पत्य सङ्कटका कारणहरू स्पष्ट पार्न सामाजिक, आर्थिक, नैतिक तथा मनोवैज्ञानिक समस्याका रूपमा सम्बन्धित विषयको अध्ययन गरिएको छ। ‘घरपैँचो’, ‘यथास्थिति’, ‘बदलिँदो रङ् मनको’, ‘विङ्सगति : एउटा क्रमको’, ‘अनास्थाका पलहरू’, ‘बिरिमफूल’, ‘नि नि, लै लै निरमाया’, ‘भ्रमित’, ‘मिल्ने मन’, ‘लाशजस्तो इच्छा’, ‘गुम्फन’, ‘लावारिश उपहार’ जस्ता कथामा पारिवारिक जीवन र नाता सम्बन्धहरूमध्ये दाम्पत्य सङ्कटको चित्रणले के कस्तो दशा र दिशा निर्देश गरेको छ भन्ने कुरो स्पष्ट पार्न यससम्बन्धी विविध पक्षहरूको विश्‍लेषणात्मक अध्ययन गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Nepali balkathaharuma aloukikta ghatna नेपाली बालकथाहरुमा अलौकिकता असम्भाब्या घटना
    (University of North Bengal, 2022) Tamang तामांग, Bhupen भुपेन
    बालकथालाई रोचक र आकर्षित बनाउनामा अलौकिक तत्त्वको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। विभिन्न आद्‌भुतिक घटना, अलौकिक पात्र प्रयोग, पात्रगत विचित्र गुण र व्यवहारको चित्रण आदिका माध्यमले बालकथामा योजनाबद्ध रूपमा अलौकिकताको स्थापन गरिएको हुन्छ जसबाट बालहृदयले मनोरञ्जनसँगै नैतिक ज्ञान पनि प्राप्त गर्दछ। यस लेखमा नेपाली बालकथाहरूमा एउटा प्रवृत्ति विशेषका रूपमा रहेको अलौकिकताको स्थापन के कसरी भएको छ भन्ने कुरालाई विभिन्न आधारहरूबाट अध्ययन गरिएको छ। यस लेखमा विषयसँग सम्बद्ध सामग्री पुस्तकालयीय विधिद्वारा सङ्ग्रह गरी विवरणात्मक पद्धतिद्वारा निष्कर्ष निकाल्ने काम गरिएको छ। वर्णविन्यासका लागि हेमाङराज अधिकारीद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोश (वि सं २०६६) अनि पादटिप्पणी र सन्दर्भ सूचीका लागि नेपाली लेखन शैली (ई सं २०११)लाई आधार मानिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Apradh kathaka rupma 'moule saritako hatya gare' kathako bishleshan अपराध कथाका रुपमा 'मैले सरिताको हत्या गरें' कथाको विश्लेषण
    (University of North Bengal, 2022) Sharma शर्मा, Durgaprasad दुर्गाप्रसाद
    गोविन्दबहादुर मल्ल गोठालेको तेस्रो कथासङ्ग्रह प्रेम र मृत्युमा सङ्ग्रहित मैले सरिताको हत्या गरेँ कथाको अपराध वैज्ञानिक विश्लेषण गर्नु यस शोधपत्रको उद्देश्य हो। चारित्रिक मनोविकारबाट निर्मित पात्रका माध्यमले कथामा जघन्य अपराधका श्रेणीमा राखिने हत्याजस्तो अमानवीय घटना भएको कुरो चित्रण गरिएकाले उपर्युक्त कथालाई अपराध आख्यान भन्न सकिन्छ। कथामा गोठालेले हत्याराको मनोग्रन्थीलाई सफलतापूर्वक केलाएका छन्। गोठालेका अपराध कथाहरु हत्या हिंसापछि जासुसी वा प्रहरी प्रक्रियात्मक तरिकाद्वारा हत्यारा वा हत्याको छानबिन गरिने पाश्चात्य साहित्यका अपराधकथा जस्ता नभएर हत्याराका असामान्य मनोग्रन्थी केलाउने मनोवैज्ञानिक ढाँचाका पाइन्छन्।
  • Thumbnail Image
    ItemOpen Access
    'Kathakarko aankha' katha ko bigha paripati 'कथाकारको आँखा' कथा को बिघा परिपाटी
    (University of North Bengal, 2022) Patna पत्न, Yogesh योगेश
    सञ्जय विष्ट भारतीय नेपाली कथाका क्षेत्रमा एकजना स्थापित कथाकार हुन्। शब्दान्त (ई सं १९९३), अस्तचालतिर (ई सं २००७) र जुनजस्तै घाम (ई सं २०१५) उनका प्रकाशित कथा सङ्ग्रह हुन्। उनका कथाहरूको अध्ययन विभिन्न दृष्टिकोणबाट गर्न सकिन्छ। उनका प्रत्येक कथाले नै पाठकलाई विविध प्रकारले प्रभाव पारेको हुन्छ। अर्थात् एउटा पछि अर्को उत्कृष्ट कथा लेख्ने कथाकारहरूमध्ये उनी एकजना हुन्। उनको ‘कथाकारको आँखा’ कथा बेग्लै परिपाटीको देखिन्छ। यो कथा कथा विधाले भन्दै आएको पारम्परिक संरचनालाई चुनौती दिएर निर्माण भएको छ। यस कारण यस शोध पत्रमा उनका धेरैवटा कथाहरूमध्ये ‘कथाकारको आँखा’ कथाको विधा परिपाटी हेर्ने काम गरिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता
    (University of North Bengal, 2022) Khatibda खतिवडा, Bishwaraj विश्वराज
    प्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।
  • Thumbnail Image
    ItemOpen Access
    Shabdarth sambandh शब्दार्थ सम्बन्ध
    (University of North Bengal, 2022) Bisht बिष्ट, Sanjay सञ्जय
    यस लेखमा ‘शब्द’को अर्थ, ‘अर्थ’को ‘अर्थ’, शब्द र पदमाझको भिन्नता, शब्द र अर्थमाझको सम्बन्ध आदि बारे चर्चा गरिएको छ। पूर्वीय मीमांसा दार्शनिक अनि वैयाकरणहरूले यस सन्दर्भमा व्यापक विस्तृत चर्चा गरेका छन्। यहाँ तिनीहरूकै वैज्ञानिक र विद्वत् भनाइका आधारमा शब्द र अर्थको नित्यानित्य सम्बन्धबारे चर्चा गरिएको छ। यस सन्दर्भमा मुख्यतः वाक्यपदीयकार भर्तृहरि, महाभाष्यकार पतञ्जलि, सूत्रकार पाणिनि अनि अन्विताहितानवादी र अभिहितान्वयवादी मीमांसा दार्शनिकहरूका मतलाई आधार स्वरूप ग्रहण गरिएको छ। व्यवहारमा अर्थ प्रतीति कसरी हुन्छ? अर्थ भन्ने कुरो शब्दको लाग्दछ कि वाक्यको? शाब्दिक अर्थ र पदीय अर्थ एउटै हुन् कि बेग्ला बेग्लै? शब्द एकार्थक हुन्छ? अथवा शब्दको अर्थ निर्दिष्ट हुन्छ? यदि एकार्थक मानिएकै शब्दको अर्थ पनि निर्दिष्ट हुँदैन भने यस्ता र अनेकार्थक शब्दको अर्थ निर्णयका उपायहरू के के हुन सक्छन् भन्ने कुराबारे यस लेखमा चर्चा गरिएको छ। यीबाहेक ‘सङ्केतग्रह’ भनेको के हो? र व्यवहारमा सङ्केतग्रहको प्रक्रिया कस्तो हुन्छ? भन्ने विषयमा पनि यस लेखमा सामान्य चर्चा गरिएको छ।