Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 08, No. 11

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4587

सम्पादकीय

नेपाली भाषा, साहित्य अनि संस्कृतिबारे अद्यावधिक तथा अधुनातन पक्षहरूको उद्घाटनमा केन्द्रित प्राज्ञिक ढाँचाका शोधपत्रहरूको प्रकाशन अभिज्ञानको अभीष्ट हो। अभिज्चानको यस अङ्कमा पनि हामीले यसै अभीष्टको परिपूर्ति गर्न चाहेका छौँ। यस अङ्कदेखि यसको प्रकाशन पुनः विद्वत्‌ समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) का रूपमा हुन लागिरहेछ। विशेष गरी महाविद्यालय तथा विश्वविद्यालयका शोधार्थी तथा अध्यापकहरूका लागि यो उत्साहजनक निर्णय हो। यसलाइ निरन्तरता दिएर सफल तुल्याउनमा सबैबाट सहभागिता र सहयोगको अपेक्षा छ। अभिज्ञानको यस अङ्कमा भाषा अनि साहित्यसम्बन्धी सातवटा विविध विषयका शोधपत्रहरूलाई हामीले ठाउँ दिएका छौँ। यी शोधपत्रहरू सम्बन्धित विषयका विशेषज्ञहरूको निरूपण तथा परामर्शद्वारा खारिएका छन्‌ जसबाट हाग्रा पाठकहरू अवश्यै लाभान्वित बन्नेछन्‌।

अभिज्ञानको यस अङ्कमा सङ्ग्रहित डा रेमिका थापाको समकालीन भारतीय नेपाली कविताको कथन वैशिष्ट्य' शीर्षक पहिलो शोधपत्रमा सन्‌ १९८0 को दशकपछिका भारतीय नेपाली कविताको अभिव्यक्ति शैलीलाई ठम्याउने प्रयास गरिएको छ। अभिव्यक्ति कौशलको एउटा विशेष परिपाटीकै कारण समकालीन भारतीय नेपाली कविताले पूर्ववर्ती कालका कविताभन्दा पृथकू अनि स्पष्ट स्वरूप निर्माण गर्न सकेको छ भन्ने डा रेमिकाको निर्क्याल छ। कविता कथनका सङ्घटनात्मक विशेषताहरूको विवेचनामा केन्द्रित यिनको यस लेखलाई भारतीय नेपाली काव्य समालोचनाको नौलो प्राप्ति मान्न सकिन्छ।

कृष्णप्रसाद चालिसेद्वारा लिखित लुप्तप्रायः भाषाको अभिलेखीकरण - समस्या र समाधान' शीर्षक शोधपत्रले सङ्कटापन्न अथवा लुप्तप्रायः भाषाको शोध गर्न विधि अनि प्रविधिसँग हामीलाई परिचय गराउँदछ। यिनको यो लेख लुप्तप्रायः भाषाको अन्वेषणका क्रममा लेखक स्वयम्‌ले भोगेका देखेका अनुभवहरूमा आधारित रहेको छ। भाषिक अभिलेखीकरणका दिशामा काम गर्न चाहने शोधकर्ताहरूका लागि यो लेख अवश्यै सहयोगी सिद्ध हुनेछ।

यसरी नै भारतका समकालीन नेपाली कविता र गीतमा लोक संस्कृति एवम्‌ इतिहास चेतना' शीर्षक शोधपत्रमा डा दिलकुमार प्रधानले 'समकालीनता , इतिहास चेतना तथा “लोक संस्कृतिका सैद्धान्तिक अवधारणाबारे विस्तृत विवरण प्रस्तुत गर्दै भारतबाट लेखिएका समकालीन धाराका नेपाली कविताहरूमा पाइने ऐतिहासिक अनि लोक सांस्कृतिक सन्दर्भहरू प्रायः परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको निष्कर्ष प्रस्तुत गरेका छन्‌। यिनको यो लेख भारतीय नेपाली कविताको वैशिष्ट्यगत स्वरूप निर्धारणका लागि उपयोगी हुने देखिन्छ।

योगेश खातीको ' फेरि इतिहास दोहोरिन्छ नाटकको समाज राजनैतिक अध्ययन शीर्षक लेखमा मनबहादुर मुखियाकृत फेरि इतिहास दोहोरिन्छ नाटकमा अन्तर्निहित दार्जिलिङका ऐतिहासिक घटनाहरूको सन्दर्भलाई केलाउने प्रयास गरिएको छ। साहित्यको अन्तविषयक अध्ययन पद्धतिका रूपमा समाजराजनैतिक अध्ययनका सम्भावित क्षेत्रहरूबारे पनि यसले सैद्धान्तिक विमर्श प्रस्तुत गरेको छ।

“दाम्पत्य जीवनका समस्या र चुनौतीहरू - सन्दर्भमा पूर्ण राइका कथा शीर्षक लेखमा डा देवचन्द्र सुब्बाले पूर्ण राईका कथाहरूको आलोकमा आधुनिक तथा आधुनिकोत्तर जीवनशैलीबाट मानिसको दाम्पत्य जीवन के कसरी प्रभावित भइरहेको छ तथा त्यसबाट सिर्जित समस्या र चुनौतीहरू के के छन्‌ भन्ने बारे विश्लेषणात्मक अध्ययन प्रस्तुत गरेका छन्‌। पौराणिक भारतीय संस्कृतिमा विवाह संस्कारको अवधारणा विकासबारे संक्षिप्त रूपरेखा समेत यसमा प्रस्तुत गरिएको छ।

सुनिला गुरुङको दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग शीर्षक लेखमा दार्जिलिङे कथामा पाइने हास्यात्मक सन्दर्भहरू केलाइएको छ। पूर्वीय अनि पाश्चात्य साहित्यशास्रीहरूले साहित्यमा हास्य तत्त्वको महत्त्व, प्रयोजन अनि वर्गीकरणबारे के कस्ता मतहरू अघि सारेका छन्‌ भन्ने विषयमा पनि यसमा विस्तृत रूपमा चर्चा गरिएको छ।

यस अङ्कको अन्तिम लेखमा आयुष तामाङले रातभरि हुरी चल्यो कथामा भाषिक विचलन शीर्षक शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको विचलनपूर्ण भाषा प्रयोगबारे वर्णनात्मक अध्ययन प्रस्तुत गरेका छन्‌। बेलायती भाषाविद्‌ ज्योफ्री निल लिचले आफ्नो पुस्तक अ लिङ्‌्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा प्रतिपादन गरेका सिद्धान्त र पद्धतिका आधारमा यिनले उपर्युल्लिखित कथामा पाइने भाषातात्विक विचलनहरू खोज्ने प्रयास गरेका छन्‌।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    'रातभरि हरी चल्यो' कथामा भाषिक बिचलन 'Ratvari hari chalow' kathama bhashik bichalan
    (University of North Bengal, 2019-12) तामाङ Tamang, आयुष Ayush
    प्रस्तुत शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको रातभरि हुरी चल्यो कथामा प्रयुक्त भाषिक विचलनगत वैशिष्ट्यको अध्ययन गरिएको छ। भाषिक विचलन अग्रभूमि निर्माणको एउटा उपाय हो। भाषा प्रयोगलाई आफ्ना स्वचालित तथा अतिपरिचित प्रयोग व्यवस्थाबाट मुक्त गरी एकदमै नवीन, आश्चर्यजनक तथा आकर्षक बनाई भावाभिव्यक्तिलाई अझ प्रभावकारी पार्नु भाषिक विचलनको मूल अभीष्ट हो। लिचले सन्‌ १९६९को आफ्नो पुस्तक अ लिङ्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा साहित्यमा पाइने भाषिक विचलनका आठवटा प्रकारहरू देखाएका छन्‌।' यस लेखमा उनको वर्गीकरणलाई आधार स्वरूप ग्रहण गरिएको छ। यस लेखमा अध्ययन गरिएको कथामा कोशीय, व्याकरणिक, ध्वनिप्रक्रियात्मक, लेखिमिक, अर्थतात्विक र भाषिकागत विचलन पाइन्छ। यस लेखमा ती भाषिक विचलनको अवधारणा एवम्‌ विशेषता आदिको चर्चा गर्दै कथामा तिनको प्रयोगको स्थिति तथा भूमिका बारे विस्तृत अध्ययन गर्न प्रयास गरिएको छ।