Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 08, No. 11

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4587

सम्पादकीय

नेपाली भाषा, साहित्य अनि संस्कृतिबारे अद्यावधिक तथा अधुनातन पक्षहरूको उद्घाटनमा केन्द्रित प्राज्ञिक ढाँचाका शोधपत्रहरूको प्रकाशन अभिज्ञानको अभीष्ट हो। अभिज्चानको यस अङ्कमा पनि हामीले यसै अभीष्टको परिपूर्ति गर्न चाहेका छौँ। यस अङ्कदेखि यसको प्रकाशन पुनः विद्वत्‌ समीक्षा आधृत शोध पत्रिका (Peer Reviewed Journal) का रूपमा हुन लागिरहेछ। विशेष गरी महाविद्यालय तथा विश्वविद्यालयका शोधार्थी तथा अध्यापकहरूका लागि यो उत्साहजनक निर्णय हो। यसलाइ निरन्तरता दिएर सफल तुल्याउनमा सबैबाट सहभागिता र सहयोगको अपेक्षा छ। अभिज्ञानको यस अङ्कमा भाषा अनि साहित्यसम्बन्धी सातवटा विविध विषयका शोधपत्रहरूलाई हामीले ठाउँ दिएका छौँ। यी शोधपत्रहरू सम्बन्धित विषयका विशेषज्ञहरूको निरूपण तथा परामर्शद्वारा खारिएका छन्‌ जसबाट हाग्रा पाठकहरू अवश्यै लाभान्वित बन्नेछन्‌।

अभिज्ञानको यस अङ्कमा सङ्ग्रहित डा रेमिका थापाको समकालीन भारतीय नेपाली कविताको कथन वैशिष्ट्य' शीर्षक पहिलो शोधपत्रमा सन्‌ १९८0 को दशकपछिका भारतीय नेपाली कविताको अभिव्यक्ति शैलीलाई ठम्याउने प्रयास गरिएको छ। अभिव्यक्ति कौशलको एउटा विशेष परिपाटीकै कारण समकालीन भारतीय नेपाली कविताले पूर्ववर्ती कालका कविताभन्दा पृथकू अनि स्पष्ट स्वरूप निर्माण गर्न सकेको छ भन्ने डा रेमिकाको निर्क्याल छ। कविता कथनका सङ्घटनात्मक विशेषताहरूको विवेचनामा केन्द्रित यिनको यस लेखलाई भारतीय नेपाली काव्य समालोचनाको नौलो प्राप्ति मान्न सकिन्छ।

कृष्णप्रसाद चालिसेद्वारा लिखित लुप्तप्रायः भाषाको अभिलेखीकरण - समस्या र समाधान' शीर्षक शोधपत्रले सङ्कटापन्न अथवा लुप्तप्रायः भाषाको शोध गर्न विधि अनि प्रविधिसँग हामीलाई परिचय गराउँदछ। यिनको यो लेख लुप्तप्रायः भाषाको अन्वेषणका क्रममा लेखक स्वयम्‌ले भोगेका देखेका अनुभवहरूमा आधारित रहेको छ। भाषिक अभिलेखीकरणका दिशामा काम गर्न चाहने शोधकर्ताहरूका लागि यो लेख अवश्यै सहयोगी सिद्ध हुनेछ।

यसरी नै भारतका समकालीन नेपाली कविता र गीतमा लोक संस्कृति एवम्‌ इतिहास चेतना' शीर्षक शोधपत्रमा डा दिलकुमार प्रधानले 'समकालीनता , इतिहास चेतना तथा “लोक संस्कृतिका सैद्धान्तिक अवधारणाबारे विस्तृत विवरण प्रस्तुत गर्दै भारतबाट लेखिएका समकालीन धाराका नेपाली कविताहरूमा पाइने ऐतिहासिक अनि लोक सांस्कृतिक सन्दर्भहरू प्रायः परिचय सङ्कट वा जातीय आस्तित्विक चेतनाबाटै सिञ्चित भएको निष्कर्ष प्रस्तुत गरेका छन्‌। यिनको यो लेख भारतीय नेपाली कविताको वैशिष्ट्यगत स्वरूप निर्धारणका लागि उपयोगी हुने देखिन्छ।

योगेश खातीको ' फेरि इतिहास दोहोरिन्छ नाटकको समाज राजनैतिक अध्ययन शीर्षक लेखमा मनबहादुर मुखियाकृत फेरि इतिहास दोहोरिन्छ नाटकमा अन्तर्निहित दार्जिलिङका ऐतिहासिक घटनाहरूको सन्दर्भलाई केलाउने प्रयास गरिएको छ। साहित्यको अन्तविषयक अध्ययन पद्धतिका रूपमा समाजराजनैतिक अध्ययनका सम्भावित क्षेत्रहरूबारे पनि यसले सैद्धान्तिक विमर्श प्रस्तुत गरेको छ।

“दाम्पत्य जीवनका समस्या र चुनौतीहरू - सन्दर्भमा पूर्ण राइका कथा शीर्षक लेखमा डा देवचन्द्र सुब्बाले पूर्ण राईका कथाहरूको आलोकमा आधुनिक तथा आधुनिकोत्तर जीवनशैलीबाट मानिसको दाम्पत्य जीवन के कसरी प्रभावित भइरहेको छ तथा त्यसबाट सिर्जित समस्या र चुनौतीहरू के के छन्‌ भन्ने बारे विश्लेषणात्मक अध्ययन प्रस्तुत गरेका छन्‌। पौराणिक भारतीय संस्कृतिमा विवाह संस्कारको अवधारणा विकासबारे संक्षिप्त रूपरेखा समेत यसमा प्रस्तुत गरिएको छ।

सुनिला गुरुङको दार्जिलिङका आधुनिक नेपाली कथामा हास्यतत्त्वको प्रयोग शीर्षक लेखमा दार्जिलिङे कथामा पाइने हास्यात्मक सन्दर्भहरू केलाइएको छ। पूर्वीय अनि पाश्चात्य साहित्यशास्रीहरूले साहित्यमा हास्य तत्त्वको महत्त्व, प्रयोजन अनि वर्गीकरणबारे के कस्ता मतहरू अघि सारेका छन्‌ भन्ने विषयमा पनि यसमा विस्तृत रूपमा चर्चा गरिएको छ।

यस अङ्कको अन्तिम लेखमा आयुष तामाङले रातभरि हुरी चल्यो कथामा भाषिक विचलन शीर्षक शोधपत्रमा कथाकार इन्द्रबहादुर राईको विचलनपूर्ण भाषा प्रयोगबारे वर्णनात्मक अध्ययन प्रस्तुत गरेका छन्‌। बेलायती भाषाविद्‌ ज्योफ्री निल लिचले आफ्नो पुस्तक अ लिङ्‌्ग्विस्टिक गाइड टु इङ्ग्लिस पोयट्रीमा प्रतिपादन गरेका सिद्धान्त र पद्धतिका आधारमा यिनले उपर्युल्लिखित कथामा पाइने भाषातात्विक विचलनहरू खोज्ने प्रयास गरेका छन्‌।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    लुप्तप्रायः भाषाको अभिलेखीकरण समस्या र समाधान Luptapray: bhashako abhilekhikaran samasya ra samadhan
    (University of North Bengal, 2019-12) चालिसे Chalise, कृष्णप्रसाद Krishnaprasad
    वर्तमान विश्वमा अल्पसङ्ख्यक भाषाको लोप हुने क्रम अति तीव्र छ र यस क्रमले निरन्तरता पाएमा अर्को शताब्दीका सुरुसम्म प्रायः सबै अल्पसङ्ख्यक भाषाहरू लोप भइसक्ने छन्‌ भन्ने अनुमान छ। ऐतिहासिक बिरासत, ज्ञानका भण्डार र पहिचानको संवाहकका रूपमा भाषाहरू महत्त्वपूर्ण छन्‌ र तिनीहरूको संरक्षण हुनु अति नै आवश्यक छ। भाषिक अभिलेखीकरण भाषिक सबलीकरणका लागि पहिलो कदम हो जसले भाषाको अध्ययन र सबलीकरणका लागि आधार तयार गर्दछ। लुप्तप्रायः भाषाको अभिलेखीकरण तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुन्छ किनभने यस्ता भाषाहरूमा वक्ताहरूको सङ्ख्या निकै कम हुन्छ र उनीहरूमध्ये धेरैमा भाषिक क्षमताको हास भएको हुन्छ। त्यसै गरी भाषाका मौलिक शब्द र संरचनाहरू पनि लोप भइसकेका हुन सक्छन्‌। भाषाको प्रयोग निकै कम भाषा प्रयोगका क्षेत्रमा हुने भएकाले प्राकृतिक रूपमा विविधतायुक्त र सन्तुलित पाठसङ्ग्रहको निर्माण गर्न सकिँदैन। यसका लागि विभिन्न कृत्रिम उपायहरू अवलम्बन गर्नु पर्न हुन्छ। यसले गर्दा अनुसन्धानकर्तामा बढी सैद्धान्तिक र प्राविधिक ज्ञानको आवश्यकता हुन्छ। यसबाहेक आर्थिक, सामाजिक र भौतिक पक्षहरूको पनि भाषिक अभिलेखीकरणमा महत्त्वपूर्ण भूमिका रहन्छ।