Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 08, No. 10

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4579

सम्पादकीय

अभिज्ञानको प्रस्तुत अङ्क केही अबेर गरी छापिएको छ। यस अङ्कका लागि अभिज्ञानलाई प्राप्त शोधपत्रहरूको विधिवत्‌ चयन, परिशोधन, परिमार्जन तथा अन्य प्राविधिक प्रक्रिया पुरा गर्न क्रममा यस्तो भएको हो।

अभिज्ञानको यस अङ्कमा डा माधवप्रसाद पोखरेलको विशेष शोधलेखसहित मोठ सातवटा शोधपत्र प्रकाशित छन्‌। यी शोधपत्रहरू सामयिक सन्दर्भमा भाषा, साहित्यको उत्तरोत्तर शोधकार्यका लागि निश्चय नै सहायक सिद्ध हुनेछन्‌। यसमा सङ्कलित डा माधवप्रसाद पोखरेलको आधुनिकतावादी कविताका प्रविधि शीर्षक पहिलो लेखमा कविताको विषय सरचना तथा शैलीबारे विशेष विश्लेषणसँगै आधुनिक कालका प्रयोगवादी कविताको कालक्रमिक विकासमा समाज, पाठक चेतना र ग्रहणपद्धतिको अन्वयलाई समेत प्रस्ट्याइएको छ। यस लेखले नेपाली कविताका क्षेत्रमा गरिने भविष्यत्‌ शोधकार्यलाई सहयोग पुच्याउनेछ।

कबीर बस्नेतको उत्तर उत्तरआधुनिकतावादका सन्दर्भमा समकालीन नेपाली कविता शीर्षक शोधपत्रमा साहित्यिक उत्तरआधुनिकतावाद र उत्तर उत्तरआधुनिकतावादबारे चर्चा गरिएको छ। यसमा सन्‌ १९६0 का दशकदेखि नै उत्तरआधुनिकतावादले कला, साहित्य, सङ्गीत, नाटक, सिनेमा, इतिहास तथा दर्शनका क्षेत्रमा वैचारिक वर्चस्व बनाएर ल्याएको तथ्यबारे विवेचना गरिएको छ। यसै क्रममा सन्‌ १९९0 का दशकदेखि भने ज्ञानानुशासनका क्षेत्रमा उत्तरआधुनिक सिद्धान्तपछिको वैचारिक उथुलपुथललाई कला साहित्यका सन्दर्भमा उत्तर उत्तरआधुनिकतावादी विचारधारा भनेर चिनाइएको छ। उत्तर उत्तरआधुनिकतावादले पछिल्लो पद्धतिलाई यान्त्रिक तथा समावेशी प्रणाली मात्र ठानेर अद्यतन स्वरूपमा मानवीय भाव सम्बन्ध साथै कलाको संश्लेषण पनि हुनुपर्न प्रस्ताव राखेको कुरो समकालीन नेपाली कविताको विवेचनाद्वारा प्रस्ट्याउने प्रयास गरिएको छ।

दीपक तिवारीको अन्य गद्य विधा र साहित्य शीर्षक लेखमा विधा अध्ययनको प्रचेष्टा भएकोछ। अघिसम्मका विधागत विशेषता, सीमा र परिचयले अब सन्दर्भ बद्लिएर आफ्नो भिन्न सार्थकताको खोजी गरिरहेको सङ्क्रमणशील अवस्थामा यस लेखले दिशाबोध गराउनेछ। आख्यानरहित गद्य लेखन र निबन्ध विधाको विस्तारित अध्ययन यस लेखमा भएको छ।

छत्रकुमार तामाङको “मानव बसाइँ सराइका सन्दर्भमा ब्रह्मपुत्रका छेउछाउ उपन्यासको अध्ययन' शीर्षक लेखमा मानव जातिको एक ठाउँदेखि अर्का ठाउँतिर अस्थायी अथवा स्थायी रूपले सर्दै बसोबास गर्ने आद्यप्रवृतिको चर्चा गरिएको छ। बसाइँ सर्नाका विभिन्न कारण, बसाइँ सराइले मानव समाज इतिहासमा देखापरेका विभिन्न प्रतिक्रिया एवम्‌ प्रभाव आदिका आधारभूत विश्लेषणसहित नेपाली साहित्यको उपन्यास विधामाथि यस दृष्टिकोणको प्रयोग गर्दै लेखकले सवर्था नौलो चिन्तनलाइ अघि ल्याएका छन्‌।

सिबेन शर्माको शैलीय उपकरणका रूपमा उत्तरगर्भ प्रश्न : सन्दर्भमा परालको आगो कथा ' शीर्षक लेखमा आख्यानात्मक संरचनामा रहने भाषिक विशेषतालाई चिनाउने कार्य भएको छ। यस कार्यका निम्ति शैलीवैज्ञानिक आलोचना पद्धतिको अनुसरण गरिएको छ।

कृष्णकुमार सापकोटाको '_ विपना कतिपयका कथाहरूमा पाइने लोकतत्त्व नामक लेखमा नेपाली कथा अन्तर्गत लोकगाथाको प्रभावबारे जानकारी दिइएको छ।

यसरी नै नारायण शर्माको नेपाली भाषामा संयोजन प्रक्रिया' शीर्षक लेखअन्तर्गत नेपाली भाषाका संयोजक तत्त्वको परिचय तथा संयोजन प्रक्रियाको वर्णनात्मक अध्ययन गरिएको छ। यसमा भाषाको व्याकरणिक विशेषतामाथि विशेष प्रकाश पारिएको छ।

अभिज्चानको यस अङ्कमा समाविष्ट शोधपत्रहरू नेपाली भाषा अनि साहित्यका विविध क्षेत्र, विधा र आलोचना शास्रका विकासशील दिशामा नौला दृष्टिकोण प्रतिपादन गर्न सक्षम छन्‌। अध्ययनका आधारभूत उद्देश्य, विषय प्रतिपादनसँगै सिद्धान्तका नयाँ भुइँ सम्ठ्यारो पार्ने उपक्रमतिर यी शोधपत्रहरू उन्मुख छन्‌। अभिज्ञान सधैँ यस्ता प्रस्तावनालाई पाठक अन्वेषक एवम्‌ विद्वृतृजनसामु राख्न पाउने अभिलाषा साँच्दछ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    अन्य गद्य विधा र यात्रा साहित्य Annya gadya bigha ra yatra sahitya
    (University of North Bengal, 2019) तिवारी Tiwari, दीपक Dipak
    सिर्जनात्मक साहित्य लेखनमा कविता, आख्यान, नाटक र निबन्ध गरी चारवटा मूल विधा रहेको मानिन्छ। यात्रा साहित्य निबन्धइतर अन्य विधाअन्तर्गत मूलतः गद्यात्मक ढाँचामा सिर्जना हुने लेखन रहेको देखिन्छ भने यो अनाख्यानमूलक गद्यअन्तर्गतका निबन्ध-प्रबन्ध, आत्मकथा, जीवनी, संस्मरण, दैनिकी, पत्र साहित्य, शब्दचित्र, रिपोतार्ज र अन्तर्वार्ताजस्ता लेखनको समकक्षी रहेको देखिन्छ। अनाख्यानमूलक गद्यलाई अन्य विधा पनि भन्ने गरिएको छ जुन प्रधानतः जीवन भोगाइको यथातथ्यमूलक वर्णनमा आधारित हुन्छ र न्यून काल्पनिक हुन्छ जसको मूल स्वरूप गद्यात्मक र अनाख्यात्मक हुन्छ। यात्रा साहित्य शब्दले यात्रागत यथार्थानुभूतिमा संसर्गित गद्य वा पद्य कुनै पनि रूपमा लेखिएको साहित्य बुझिए तापनि लेखनगत आधिक्य र सर्वाधिक स्वीकृत मान्यताका आधारमा यो गद्यमै लेखिएको हुनुपर्छ भन्ने बुझिन्छ। यात्रा साहित्य र अन्य आख्यानेतर गद्य लेखनमाझ विभाजक तत्त्वका रूपमा सञ्चरणशीलता, सवेदनशीलता, निजात्मकता, तथ्यात्मकता र स्थानीयता जस्ता पक्षहरूले ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले यात्रा साहित्य आफ्नो छुट्दै विशेषता, स्वरूप र पहिचान बोकेको आख्यानरहित गद्यमूलक साहित्यिक विधा रहेको देखिन्छ जसले एउटा साहित्यिक विधाले वहन गर्न सबै मानदण्ड पुरा गरेको देखिन्छ।