Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 09, No. 12-14

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4812

सम्पादकीय

कोरोना काल मात्र नभएर उत्तर कोरोना कालमा समेत विश्वले नै एउटा अस्थिर अनि अव्यवस्थित परिस्थिति झेल्नु पर्‍यो, झेलिरहेको छ। त्यसैको परिणामस्वरूप वर्ष २०२० देखि अभिज्ञानको प्रकाशन सुचारु गर्न सकिएन। त्यस समयदेखि हालसम्म अभिज्ञानका पाँचवटा अङ्क छापिनु पर्ने हो तर एउटै पनि छापिएन। शोधपत्रको सङ्कलन, चयन, समीक्षा अनि सम्पादन प्रक्रियामा त्यसै पनि समय लाग्छ नै, त्यसमाथि स्थिति प्रतिकूल रहेकाले यसको व्यवस्थापन श्रमसाध्य बन्यो। यतिका समयपछि बल्ल जुन २०२१ देखि डिसम्बर २०२२ सम्मका समयावधिमा छापिनु पर्ने यसका तीनवटा अङ्कलाई संयुक्त रूपमा अहिले प्रकाशन गरिँदैछ। ढिलै भए पनि अहिले छापिँदै गरेको अभिज्ञानको यस अङ्कलाई सुधी पाठक महानुभावहरूले सहर्ष ग्रहण गर्नु हुनेछ भन्ने अपेक्षा साँचेका छौँ।

अघिल्ला प्रायः अङ्कहरू जस्तै अभिज्ञानको यो अङ्क पनि विविध विषययुक्त रहेको छ। यसमा प्राज्ञिक अनुसन्धानरत दसजना लेखकका विभिन्न विषयमा लेखिएका शोधपत्रलाई ठाउँ दिइएको छ। अभिज्ञानको गत अङ्कदेखि यसमा छापिएका सबै शोधपत्रहरू विद्वत् समीक्षा आधृत छन्। सम्बन्धित विषयका प्राज्ञहरूको परामर्शअनुसार संशोधन भए पछि प्रकाशनयोग्य ठहराइएका यसका सबै शोधपत्रमा अभिज्ञानको निर्दिष्ट लेखन शैली अनुसरण गरिएको छ।

अभिज्ञानको यस अङ्कमा रहेका दसवटा लेखका विषय विचार गर्दा सञ्जय विष्ट, सिबेन शर्मा अनि आशिष तामाङका लेखबाहेक अन्य सातवटा लेख नेपाली कथाका विवेचनमा केन्द्रित छन्। आधुनिक नेपाली कथा साहित्यको पहिलो प्रहरमा कथा लेख्ने गुरुप्रसाद मैनालीबाट सुरु गरेर ध्रुवचन्द्र गौतम, विन्द्या सुब्बा, प्रदीप गुरुङ हुँदै सञ्जय विष्टसम्मको कथाकारिताका वस्तु अनि शैली खुट्ट्याउने प्रयास यी शोधपत्रले गरेका छन्।

ज्ञानानुशासनका प्रत्येक क्षेत्र अन्तर्विषयक बन्दै गइरहेको आजको समयमा साहित्यको अध्ययनमा पनि विविध ज्ञानानुशासनलाई आधारभूमि बनाइएको छ। यस्तै आधारभूमि टेकेर उभिएका यसमा समाविष्ट दुर्गाप्रसाद शर्माको ‘अपराध कथाका रूपमा “मैले सरिताको हत्या गरेँ” कथाको विश्लेषण’, राजीव विश्वकर्मको ‘प्रदीप गुरुङका कथामा चित्रित दाम्पत्य सङ्कटको विवेचना’, विश्वराज खतिवडाको “नासो” कथामा सामाजिक वास्तविकता’ जस्ता लेखले शोधकर्तालाई साहित्य सन्धानका नयाँ दिशा देखाएका छन्। डा भुपेन तामाङ अनि कोमल सुब्बाका नेपाली बालकथा विषयक लेख तथा कथाका शैलीय सङ्घटनाको विवेचनामा केन्द्रित डा योगेश पन्त कृत “कथाकारको आँखा” कथाको विधा परिपाटी’ र शिवम् शर्मा कृत ‘ध्रुवचन्द्र गौतमको “तदुपरान्त” कथामा वक्रोक्ति प्रयोगको विश्लेषण’ शीर्षक लेखहरू यस अङ्कका नौला अभिप्राप्ति हुन्। साहित्यिक अध्ययनका दुईवटा पाटा छन् - वस्तु अनि शैली। सिबेन शर्मा कृत ‘समकालीन भारतीय नेपाली कवितामा समय चेतना’ शीर्षक लेखमा समय तत्त्वलाई वस्तुसँगै शैलीय विवेचनाको आधार बनाएको छ। यीबाहेक साहित्येतर विषयमा लेखिएका दुईवटा लेखमध्ये सञ्जय विष्टको ‘शब्दार्थ सम्बन्ध’ भाषिक विमर्श केन्द्रित छ भने आशिष तामाङको ‘गोरुबथान खण्डका तामाङ जातिमा प्रचलित मृत्यु संस्कार’ शीर्षक लेखले तामाङ समुदायद्वारा पालन गरिने मृत्युसम्बन्धी लोकसांस्कृतिक गतिविधिसित हामीलाई परिचय गराएको छ। यसरी विविध विषयका दसवटा लेखहरूको सङ्गालाका रूपमा आइरहेको अभिज्ञानको यस अङ्कका जम्मै लेखहरूले कुनै न कुनै रूपमा हाम्रा पाठकहरूको बौद्धिक क्षितिजलाई विस्तार गर्न सहयोग गर्ने छ भन्ने आशा राख्दछौँ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    'Naso' kathama samajik bastabikta ‘नासो’ कथामा सामाजिक बास्तविकता
    (University of North Bengal, 2022) Khatibda खतिवडा, Bishwaraj विश्वराज
    प्रस्तुत लेख गुरुप्रसाद मैनालीको ‘नासो’ (वि सं १९९२) कथामा पाइने सामाजिक वास्तविकताको अध्ययनसँग सम्बद्ध छ। सामाजिक वास्तविकता सम्बन्धी दृष्टिकोण फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले प्रतिपादन गरेका हुन्। ‘नासो’ सामाजिक विषयवस्तुमा लेखिएको कथा हुनाले यसलाई दुर्खिमद्वारा प्रतिपादित ‘सामाजिक वास्तविकताको सिद्धान्त’मा आधारित रही अध्ययन गरिएको छ। यस सिद्धान्तअनुसार समाज भौतिक वस्तु हो। यसको निर्माण र सञ्चालनमा धर्म, नैतिकता, आदर्श, मूल्य मान्यता आदि अभौतिक कुराको अहम् भूमिका रहन्छ। उक्त अभौतिक कुरालाई पनि तथ्य र प्रमाणका रूपमा लिन सकिन्छ। त्यसैले नेपथ्यमा रहेर भौतिक समाजलाई सञ्चालन गर्ने धर्म, नैतिकता आदि सामाजिक वस्तु हुन्। ‘नासो’ कथामा तत्कालीन समाजको प्रतिबिम्ब पाइन्छ। यस कथाको समाज धर्म अनि नैतिकताका मूल्य मान्यताअनुसार सञ्चालित परम्परागत प्रकारको छ। कथाका पात्रहरू देवीरमण, सुभद्रा, नौली, लक्ष्मी आदि पनि धर्म अनि नैतिकताकै निर्देशनअनुसार चलेका छन्। अतः प्रस्तुत कथालाई यहाँ ‘सामाजिक वास्तविकताको सिद्धान्त’का आधारमा अध्ययन गरिएको छ। अध्ययनका क्रममा यहाँ व्याख्यात्मक तथा विश्लेषणात्मक विधिको अनुसरण गरी तथ्यहरूको खोजी गरिएको छ। यस लेखमा देवीरमणलाई अर्को विवाह गर्न तथा सुभद्रालाई सौता भित्र्याउन बाध्य पार्ने प्रमुख कारक तत्त्व धर्म, नैतिकता, आदर्श र मूल्य मान्यताको सामाजिकता जस्ता कुरा असामाजिक वस्तु नभई अभौतिक सामाजिक वस्तु हुन् भन्ने निष्कर्ष निकालिएको छ।