Abhigyan : Shodhmulak Ardhvarshik, Vol. 07, No. 08-09

Permanent URI for this collectionhttps://ir.nbu.ac.in/handle/123456789/4491

सम्पादकीय

जीवन जगत्‌बारे गरिने सत्यको अन्वेषण नै ज्ञानको एउटा मात्र स्रोत हो। मानव सभ्यताका चरणमा देखिने अनेकौँ मान्यता, अवधारणा, सिद्धान्त तथा दर्शनहरू त्यस अन्वेषणकै परिणाम हुन्‌। मान्छे ज्ञानाग्रही हुन्छ। क आफ्नो जिज्ञासाको तृप्तिका निम्ति अनेक क्रियाकलाप तथा खोजीकार्यमा उद्यत रहन्छ। मान्छेको यस्तै प्रवृत्तिका कारण विज्ञान अनि दर्शनका क्षेत्रमा कैयौँ क्रान्तिहरू भए अनि नयाँ विचारधाराको स्थापना, तिनको समर्थन अनि खण्डन नै ती क्रान्तिका मूल हेतु बने। ब्रह्माण्डको सृष्टिसम्बन्धी 'ओल्ड टेस्टामेन्ट को पृथ्वीकेन्द्रवादी मान्यतालाई कोपर्निकसले टेवा पुच्याइरहेको बेला ग्यालिलियोले सूर्यकेन्द्रवादको सिद्धान्तलाई अघि ल्याएर भौतिक विज्ञानका क्षेत्रमा क्रान्ति ल्याएका थिए। त्यसपछि न्युटनको गुरुत्वाकर्षण सिद्धान्त, आइन्सटाइनको सापेक्षतावाद, डार्विनको विकासवाद, हिगेलको द्वन्द्ववाद, कान्टको पराभौतिकवाद, मार्क्सको समाजवाद आदिले मान्छेलाई जीवन जगत्‌सम्बन्धी नयाँ सत्यहरूसँग साक्षात्कार गराउँदै ल्याए।

“विज्ञान शब्दको व्युत्पत्तिगत अर्थ दर्शन हो अनि विज्ञान अथवा दर्शनद्वारा नै जीवन जगत्‌लाई हेर्ने मान्छेका दृष्टिकोणले नवीन दिशा पाइरहन्छ। ग्यालिलियो, न्युटन, आइन्सटाइन, डार्विन, कान्ट, हिगेल, मार्क्सहरू विज्ञान अनि दर्शनका फाँटमा एक एकवटा प्रतिमान (प्याराडाइम) हुन्‌ अनि सत्यको अन्वेषणमा लागिरहने मान्छेको प्रवृत्तिकै कारण ती प्रतिमानहरू समयान्तरमा परिवर्तित भइरहन्छन्‌ जसलाई थोमस कुहनका शब्दावलीमा प्रतिमान परिवर्तन अथवा विस्थापन (प्याराडाइम सिफ्ट) भनिन्छ। यस्तो विस्थापन ज्ञानका प्रत्येक क्षेत्रमा हुन्छ। भाषा, साहित्यको लेखन तथा अध्ययनमा पनि यस्ता विस्थापनहरू हुँदै आएका पाइन्छन्‌। पाणिनि, यास्क, पतञ्जलि, भर्तृहरि, विलियम जोन्स, सस्युर, ब्लुमफिल्ड, चम्स्की, ग्रिनबर्ग आदि भाषाविज्ञानका प्रतिमानहरू हुन्‌ भने भरतमुनि, भामह, कुन्तक, मम्मट, असस्तु, क्रोचे, इलियट, रिचर्डर्स, डेरिडा आदि साहित्यशास्रका प्रतिमान हुन्‌। नेपाली साहित्य सिर्जन क्षेत्रमा भानुभक्त, मोतीराम, लेखनाथ, सम, देवकोटा, मैनाली, भूपि, रिमाल, कटुवाल, गिरी, रूपनारायण, शिवकुमार, मल्लु दाजुभाइ, विश्वेश्वरप्रसाद, पारिजात, लामिछाने, इन्द्रबहादुर यस्तै प्रतिमान हुन्‌ जसका सिर्जन तथा लेखनले नेपाली साहित्यका शोधकर्ताहरूलाई अध्ययन अनुसन्धानका नयाँ नयाँ कसौटीहरूसँग परिचित तुल्याउँदै आएको छ।

शोधको लक्ष्य नयाँको आविष्कार नै हुन्छ चाहे त्यो पुरानाको पुनः व्याख्या विश्लेषणबाट प्राप्त तथ्य नै किन नहोस्‌। नेपाली भाषा, साहित्य, संस्कृतिका अध्येताहरूबाट 'अभिज्ञान 'ले त्यस्तै नयाँ कुराको अपेक्षा राख्छ। नेपाली साहित्य लेखनमा देखिएका प्रतिमान विस्थापनका प्रत्येक कुना कुइनेटासँग परिचित रहेर तिनकै आलोकमा वर्तमानका प्रतिमानहरू चिन्ने, बुझ्ने तथा आफ्नो लेखनलाई पनि नयाँ प्रतिमानका प्रयोगशालामा खादै लाने निष्ठावान्‌ शोधकर्ताहरूको प्रतीक्षा यसलाई छ।

यस घडी अभिज्ञान'को सातौँ वर्षको आठौँ -नवौँ अङ्क पाठकहरूका हातमा छ जुन आठवटा विविध विषययुक्त शोधपरक लेखहरूको सँगालो रहेको छ। यस अङ्कका प्रत्येक विषयले अध्येताहरूलाई नेपाली भाषा साहित्यका नयाँ पुराना प्रतिमानहरूसित परिचय गराउनेछन्‌ भन्ने आशा हामीले साँचेका छौँ। यस अङ्कको पहिलो लेख सञ्जय राइको समालोचनाको सिद्धान्त : भाष्यशास्र' रहेको छ जसले पुर्वली अनि पश्चिमेली साहित्य अध्ययनको भाष्य अथवा टीका पद्धतिका सैद्धान्तिक पक्षमाथि प्रकाश पारेको छ। रेमिका थापाको 'पराज्ञान सिद्धान्त र नेपाली साहित्य लाई समकालीन नेपाली साहित्य अध्ययनमा मौलिक सन्धानको प्रयास मान्न सकिन्छ। माध्यमिक कालदेखि नै नेपाली साहित्यमा विद्यमान रहेका पराज्ञान तत्वहरूको छानबिन गरी लेखिएको यो सम्भवतः पहिलो लेख हो। नेपाली साहित्य अध्ययनका नयाँ कसौटीहरूको परिचय दिने यस्तै अन्य दुईवटा लेखहरू छन्‌ - योगेश खातीको “सीमा अध्ययन अनि फ्रण्टियर कथा तथा मुक्तिनाथ शर्माको भिन्न क्षमताको अध्ययनका दृष्टिले लैनसिंह बाङ्देलको लङ्गडाको साथी उपन्यासको विश्लेषण '। यसरी नै विक्रम विश्वकर्मलिखित शिवकुमार राइको पुत्लो कथाका बालचरित्रहरूको अध्ययन 'ले नेपाली कथामा बाल चरित्राङ्कनलाई हेर्ने मनोवैज्ञानिक पद्धतिलाई अघि सारेको छ भने बबी लामाको “नयाँ क्षितिजको खोज उपन्यासमा इतिहास चेतना ले दार्जिलिङ समाजको निर्माण तथा विकासका कथालाई उपन्यासमा कसरी अङ्कन गरिएको छ भन्ने देखाएको छ। कृष्णमाया मगरको नेपाली कोटिकार' तथा आदर्श सुन्दासको नेपाली अनि सादरी भाषामा आदरार्थी प्रयोग : तुलनात्मक अध्ययन भाषासम्बन्धी लेखिएका दुईवटा लेखमा क्रमैले नेपाली भाषामा पाइने कोटिकारहरूको रूपतात्विक तथा प्रकार्यपरक अध्ययन अनि नेपाली र सादरी भाषाका आदरार्थी प्रयोगबिच पाइने साम्य वैषम्यहरूलाई केलाइएको छ। यसरी 'अभिज्ञान'को यस अङ्कले नेपाली भाषा साहित्यका पाठक एवम्‌ शोधकर्ताहरूलाई अध्ययनका विविध प्रतिमानहरू पस्केको छ भन्ने कुरामा हामी आश्वस्त छौँ।

Browse

Search Results

Now showing 1 - 1 of 1
  • Thumbnail Image
    ItemOpen Access
    सीमा अध्ययन अनि कथा “फ्रण्टियर' Seema Adhyayan ani katha 'frontier'
    (University of North Bengal, 2018) खाती Khati, योजेश Yojesh
    समकालीन साहित्यले अध्ययनका विविध दिशालाई पक्रेर अघि बढ्दै गरेको सकारात्मक अवस्था छ। सोभियत राष्ट्र सङ्घ टुक्रा भएपछि वैश्चिक आर्थिक, अस्थिरता अनि आतङ्कवाद जस्ता विषयहरूले गर्दा सीमा अध्ययन (Border Studies)) माथि शोध हुन सक्ने सम्भावनाहरू चुलिएर गयो। भू- राजनैतिक विभाजनबाहेक यसलाई अध्ययनको एउटा विधाका रूपमा हेरिने सम्भावनाहरू देखिए। यसैले राष्ट्रको सीमा, सिमाना, किनारा, साँध, दोसाँध बाहेक सीमा अध्ययनले सामाजिक परिसीमाका सांस्कृतिक, प्रतीकात्मक साथै अन्य प्रकारका अध्ययनतर्फ लक्ष्य ग्दछ। सीमा अध्ययन एउटा अन्तर्विषयक अध्ययन क्षेत्र हो जसले राजनैतिक अनि दैनिन्दिनी विमर्शहरूभित्र पाउन सकिने सीमा अनि चिनारीलाई बुझाई अर्थहरूको आलोचनात्मक ढङ्गले परीक्षण गर्दछ। भूगोल विषयभित्र सीमाको अध्ययन हुँदै आइरहेको हो। केही दशकदेखि यता सीमा अध्ययनले अन्तर्विषयक विधाका रूपमा विमर्शको क्षेत्र र मौका प्राप्त गरेको छ। भूगोलपछि सीमा अध्ययनलाई मनोविज्ञान, कानुन, समाजशास्र, अर्थशास्र आदि विषयहरूले पनि विधागत रूपमा हेर्न गरेको छ। परम्परागत रूपमा सीमालाई दुई देशबिचको भौगोलिक सीमाङ्कन भनेर जानिन्छ यद्यपि अन्तर्विषयक अध्ययनका रूपमा सीमा अध्ययनभित्र फौज (military), युद्ध (warfare), राजनैतिक कुटनीति (political diplomacy), आतङककवाद (terrorism) , बसाइँ (migration), जातीय चिनारी (ethnic identity), शक्ति प्रदर्शन (show of powers), डायस्पोरा ((Diaspora) जस्ता विषयहरूले भूगोल, भू- राजनीति हुँदै आज बहुविषयक अध्ययन क्षेत्रलाई उर्वर बनाएको छ। सीमा अध्ययनका सैद्धान्तिक बै सहायक प्राध्यापक, खर्साङ सरकारी महाविद्यालय। दृष्टिकोणबारे चर्चा परिचर्चा सुरु भएको केही दशक मात्र भएको छ। भारतीय नेपाली साहित्यभित्र पनि सीमा अध्ययनका प्रसङ्गहरू उपर्युक्त विषयहरू लिएर विविध विधाभित्र देखिएका भेटिन्छन्‌। यस अध्ययनको मूल उद्देश्य सन्‌ १९५१ सालमा फ्रण्टियर कथा सङ्ग्रहभित्र छापिएको कथाकार शिव कुमार राईको फ्रण्टियर कथालाई सीमा अध्ययनअन्तर्गत राखेर हेरिने प्रयास गरिन्छ। उक्त कथामा ब्रिटिस इन्डिया अर्थात्‌ भारत स्वतन्त्र भारत बनिन अघिकै कथावस्तु बुनिएको छ। कथाभित्र वास्तविक स्थान नामहरूसँगै तत्कालीन भारत, पाकिस्तान, अफगानिस्तान आदि देशहरूको सैनिक गतिविधि (military movement) र्‌ सिमानाहरूका प्रसङ्ग भेटिन्छन्‌। यसैले सीमा अध्ययनअन्तर्गत यस कथालाई हेरिँदा समकालीन भारतीय साहित्यभित्र नेपाली साहित्यको प्रवृत्तिलाई केलाउने अझ फाँडटिलो क्षेत्र प्राप्त हुन सक्ने उद्देश्यले कथा फ्रण्टियर को यहाँ चर्चा गरिन्छ।